घटराज भट्टराई : जो लेख्या-लेख्यै, दौड्या-दौड्यै गरिरहे

SHARE:

२४ पुस, काठमाडौं । त्यतिबेलासम्म नेपाली साहित्यको आधिकारिक इतिहास थिएन । यसैले लामो समय डा. तारानाथ शर्माको ‘नेपाली साहित्यको इतिहास’ले नै विश्वविद्यालयको पाठ्यक्रममा काम चलाइयो ।

यता नेपाल प्रज्ञा प्रतिष्ठानले ‘साहित्यकार-कलाकार परिचय कोष’ प्रकाशन नगरुन्जेल व्यक्तिगत रुपमा लिखित र प्रकाशित ‘साहित्यकार परिचय कोष’ र पछि ‘लेखक कोष’ नै बजारमा उपलब्ध थियो ।

यसैका लेखक थिए घटराज भट्टराई । उनले ‘प्रतिभैप्रतिभा र नेपाली साहित्य’ लेखन गरेका थिए । यो नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरुको परिचयात्मक जीवनीसङ्ग्रह थियो ।

घटराज नामसँग मेरो परिचय मधुपर्क मासिकमार्फत भएको थियो । साहित्यमा भर्खर पाइला चाल्दा २०३४।३५ तिर नेपाली साहित्यमा टड्कारो देखिने प्रतिष्ठित मुख्य दुई पत्रिकाहरु निजी क्षेत्रको ‘रुपरेखा’ र सरकारी क्षेत्रको ‘मधुपर्क’ थियो । मैले यी दुवै पत्रिका नियमित पढ्न थालेको थिएँ । मधुपर्कमा नयाँ लेखकको रचना त तत्कालीन सम्पादक केशवराज पिंडालीले एक प्रकारले निषेध नै गरेका थिए । पुराना पिंढीका लेखकहरुका रचनाहरु प्रकाशित हुन्थे र ती रचनाहरुलाई म निकै उत्सुकता र रुचिकासाथ पढ्थें ।

तर एकजना लेखकको रचना भने हरेक अङ्कमा प्रकाशित हुन्थ्यो । त्यो विभिन्न साहित्यिक व्यक्तित्वको विषयमा चिनारी थियो । त्यसका लेखक थिए, घटराज भट्टराई ।

भट्टराईको जन्म पूर्वी नेपालको सेर्नामा १० मङ्सिर १९९९ सालमा भएको थियो । उनको १३ वर्षको उमेरमै विवाह भएको थियो र १७ वर्षको उमेरमा काठमाडौं आएका थिए ।

काठमाडौंमा उनले आर्थिक रुपले सङ्घर्षपूर्ण जीवन बिताउनु परेको थियो । त्यसक्रममा भात पकाइदिने, भाँडा माझ्ने, लुगाधुने काम पनि गर्न बाध्य भए उनी । पछि उनले ट्यूसन पढाउने अवसर पाए । आफ्नो शिक्षालाई पनि उनले निरन्तरता दिए । वनारस संस्कृत विश्वविद्यालय केन्द्रबाट पूर्वमध्यमा तथा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट विद्यार्थीका रुपमा नेपालीमा एमए गरे । यो शैक्षिक योग्यताले उनलाई त्रिभुवन विश्वविद्यालयमा अध्यापनको बाटो खोलिदियो ।

यसैबीच उनले साहित्यिक रचनाहरु पनि गर्न थालिसकेका थिए र प्रकाशन हुन थालिसकेका थिए ।

मधुपर्कमा प्रकाशित र त्यसमा थप गरेर जीवनीमूलक लेखहरुको सङ्ग्रह ‘प्रतिभैप्रतिभा र नेपाली साहित्य’को पहिलो संस्करण २०४० सालमा प्रकाशन भयो । तर पछि एकता बुक्स प्रकाशनबाट २०५१ सालमा निकै आकर्षक ढङ्गबाट प्रकाशित भयो ।

यस संस्करणमा उनले प्रशस्त परिमार्जन र संशोधन पनि गरेका थिए र ‘संशोधित एवं परिवर्धित संस्करण’ भनेर पुस्तकमै उल्लेख गरिएको थियो । यसको पहिलो संस्करण नै नेपाली साहित्यका विद्यार्थीका लागि निकै उपयोगी सन्दर्भसामग्रीको रुपमा स्वीकार गरिएको थियो ।

दोस्रो संस्करणमा वि. सं. १७७९ मा जन्मेका पृथ्वीनारायण शाहदेखि २००० सालमा जन्मेका मुकुन्दशरण उपाध्यायसम्मका १३८ प्रतिभाहरुको परिचयात्मक जीवनी लेखिएको छ ।

यो कृतिमा उनी आफैंले यस प्रकारको लेखनलाई ‘कहिल्यै नटुंगिने यात्रा’ को उपमा दिएर भूमिकामा भनेका थिए- नेपाली वाङ्मयका सेवकहरू स्वतः अमर छन् । उनीहरूको व्यक्तित्व, कृतित्व र योगदानबारे जानकारी लिन सबैलाई सुविधा होस् भन्ने उद्देश्य राखेर संक्षिप्त रूपमा उनीहरूबारे चर्चा गरेर नेपाली वाङ्मयका श्रद्धालु पाठकहरूमा चढाउने धोको आजको होइन, दश वर्षअगाडिको हो । यो धोको ठीक समय र ठीक व्यक्तिमा उठेको थियो थिएन म भन्न सक्तिन तर त्यस धोकोले मलाई बस्न, खान, सुत्न दिएन, मनोरञ्जन र आनन्द, आराम र गफगाफमा समय बिताउन दिएन । नेपाली साहित्यका साधकबारे खोजखबर गर्न प्रेरित गर्‍यो। अनिजो भेटिन्छ टिप्तै गएँ, उनीहरू र उनीहरूबारे लेखिएका कृतिहरू पढ्दै गएँ लेख्दै पनि गएँ।

उनले साहित्यकार केन्द्रित कृतिहरु पनि क्रमश: लेख्दै र प्रकाशन गर्दै गए । यस क्रममा ‘गुणराजः व्यक्ति र कृति’, ‘भीमनिधिः व्यक्ति र कृति’, ‘संस्कृतका अमर साहित्यकार’, ‘बालचन्द्र शर्माः व्यक्तित्व र साधना’, ‘आशुकवि शम्भुप्रसाद ढुङ्गेलको परिचय’ जस्ता उपयोगी, खोजमूलक, जीवनीमूलक, सूचनामूलक कृतिहरुको सिर्जना गरे ।

एकातिर अध्यापन, अर्कोतिर स्वतन्त्र लेखन र त्यसमाथि उनको संलग्नता विभिन्न संघसंस्थामा । यी सबले उनलाई नियमित र निरन्तर बोझ र उत्तरदायित्व थपिंदै गयो, तर उनले ती बोझ र उत्तरदायित्वलाई सहज रुपले स्वीकार्दै लेखन कर्मलाई अघि बढाए । तर उनको व्यस्तताले रचनाकर्मलाई विशिष्ट बनाउनबाट वञ्चित गर्‍यो । यसको पहिलो बृहत् दृष्टान्त ‘नेपाली साहित्यकार परिचय कोष’ मा देखियो ।

यो बृहत् र उपयोगी ग्रन्थको रुपमा त लिइयो, तर अपेक्षाकृत परिष्कृत थिएन । तर पनि यस ग्रन्थको नेपाली वाङ्मय जगतमा निकै स्वागत भयो, किनभने यसअघि यस प्रकारको ग्रन्थ व्यक्तिगत वा संस्थागत कुनै पनि पनि रुपमा निस्केको थिएन । हजारौं लेखकका परिचयात्मक विवरण सङ्कलन गरी लेखन गर्नु कष्टसाध्य कुरा नै थियो ।

उनले कविता विधामा पनि आफ्नो प्रतिभा प्रस्फुटन गरे जसको फलस्वरुप कविता कुसुम, आजकीसित, काव्यत्रयी, बादल फाटेपछि, अमरज्योति, मोतीमत, जयबाल जस्ता काव्यकृतिहरु प्रकाशन भए । उनले नियात्रा विधामा पनि आफ्नो कलमलाई विस्तारित गरे । उनले डोल्पाकी छोटी, गोसाइँकुण्ड, भानुयात्राका आठ दिन जस्ता कृतिहरु लेखन र प्रकाशन गरे ।

अध्यापन कर्म र संस्थागत संलग्नताले उनलाई दौडाइरह्यो र लेखनप्रतिको निष्ठाले उनलाई लेखाइरह्यो । उनी दौडेको दौड्यै गरिरहे । लेखेको लेख्यै गरिरहे ।

उनको संस्थागत संलग्नताले उनलाई सधैं स्वाँस्वाँ फ्वाँफ्वाँ हुन्थ्यो । एकपल्ट कमल दीक्षितले त उनलाई मुख खोलेरै भनेका थिए, ‘घटराजजी, तपाईंलाई धेरै संस्थासँगको संलग्नताले साह्रै भ्याइनभ्याइ भयो । २/४ वटामा मात्र बस्नुस्, अरुबाट बिदा लिनुस् । अति भो तपाईंलाई बोझ !’

साँच्चै उनले जीवनभरि लेख्यालेख्यै गरिरहे, दौड्यादौड्यै गरिरहे । यसैको पर्याय थिए- घटराज भट्टराई

त्रिमूर्ति निकेतन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, लेखनाथ पौड्याल काव्यसभा, बालकृष्ण सम फाउण्डेसन, सीताराम प्रज्ञाप्रतिष्ठान, भारती खरेल प्रतिष्ठान,  वेदनिधि प्रबन्ध समिति, छिन्नलता गुठी, कोइलीदेवी सङ्गीत कोष, नइ प्रकाशन, भैरव पुरस्कार गुठी, उत्तम पुरस्कार गुठी, उदयानन्द पुरस्कार गुठी, झपट पुरस्कार व्यवस्था समिति, सैनध्वज नन्दकुमारी गुठी, गुणराज स्मारक समिति, त्रिभुवन विश्वविद्यालय सिनेट,  प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा लगायतमा उनको संस्थागत संलग्नता थियो ।

तर संस्थागत संलग्नता उनको लागि नसा समान भइसकेको थियो, जसलाई चाहेर पनि उनी छाड्न सक्दैनथे । कुनै शनिबार त बिहानदेखि बेलुकीसम्म विभिन्न संस्थाको बैठकमा भाग लिएर लखतरान हुन्थे । उनलाई साहित्यिक संघसंस्थासँगको संलग्नताको लत नै लागेको थियो । यसले स्पष्ट रुपमा लेखनमा बाधा त पार्थ्यो नै, लेखनलाई माझ्ने फुर्सद पनि खाइदिन्थ्यो ।

उनलाई भेट हुँदा भन्ने गर्थे, ‘प्रतिभैप्रतिभा र नेपाली साहित्य’ मा पुरानो पुस्ताका समेटिएका छन् । तपाईंहरुको पुस्तासम्मको अर्को खण्ड लेख्तैछु । तपाईंको पनि अध्यावधिक सूचना तयार पारेको छु ।’

त्यसो त उनले ‘नेपाली साहित्यकार परिचय कोष’ मा मेरो बारेमा लेखेका थिए । पछि त्यसैको परिवर्तित र विस्तृतीकरण गरिएको ‘लेखक कोष’ मा पनि नसमेटेका होइनन् । तर विस्तृत मूल्याङ्कनपरक लेखन गर्ने उनको मनसुवा थियो । तर उनलाई पर्याप्त समय नै भएन त्यसरी गम्भीर लेखनमा लाग्न । उनको दौडाइ निरन्तर थियो, लेखाइ निरन्तर थियो, तर त्यसले उनले सोचेजति, ईच्छा गरेजति लेखन हुन सकिरहेको थिएन ।

जब लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानबाट ‘लेखक कोष’ प्रकाशित भयो, त्यस समयमा यो कीर्तिमानी ग्रन्थ सावित भयो । यो ‘साहित्यकार परिचय कोष’ भन्दा विस्तृत यसकारण भयो कि यो साहित्यकारहरुमा मात्र सीमित नभएर, गैरसाहित्यका भएपनि पुस्तक लेखक सबै समेटिए । यो पुस्तक प्रकाशनका लागि नरेन्द्रराज प्रसाईंको मूल भूमिका थियो । यो कृतिमा उनी पुरस्कृत पनि भए । त्यसको श्रेय पनि नरेन्द्रराज प्रसाईंलाई नै थियो । निकै आकर्षक ढङ्गमा प्रकाशित यो कृति उनको जीवनको निकै उत्कृष्ट उपलब्धि थियो, यद्यपि उनले यसको लेखनलाई पर्याप्त समय दिन नसकेको गुनासो गर्ने ठाउँ अवश्य थियो ।

उनले जीवनको पछिल्लो चरण पशुपति क्याम्पसलाई बढी समर्पण गरेका थिए । त्रिविबाट सम्बन्धनप्राप्त प्राइभेट क्याम्पस थियो त्यो, जसको प्राचार्य थिए उनी । उनी त्यस क्याम्पसलाई विश्वविद्यालय बनाउने सपना देख्थे । सो क्याम्पसमा पदका लागि आकांक्षीहरु बढी भएर तानातान गर्ने अवस्था आउँदा उनको भनाइ हुन्थ्यो, ‘तपाईंहरु किन पदका लागि भिडन्त गर्नुहुन्छ ? यसलाई विश्वविद्यालय बनाउनुहोस्, कत्रो पद खाने, को को खाने ? फालाफाल पद छन् ।’

धर्म र अध्यात्ममा गहिरो आस्था राख्ने उनी २०६२ सालमा तीर्थ गएका थिए । त्यताबाट फर्केपछि उनी थकित, गलित र सुस्त देखिए । यो सबै यात्राको थकान होला भन्ने भयो शुरुमा । तर पछि उनी अलि बेसुरा जस्ता पनि भए र प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रममा बोल्दाबोल्दै ढलेपछि उनको ती सुस्तपना लगायतका लक्षणको कारण पत्ता लाग्यो । उनलाई मष्तिष्कको क्यान्सर भएको मात्रै होइन, अन्तिम अन्तिम चरण अर्थात् चौथो चरणमा पुगिसकेको रहेछ । अनि २०६३ साउन २२ गतेका दिन सोही क्यान्सरका कारण धरतीबाट बिदा भए ।

उनले आफ्नो जीवनकालमा साढे तीन दर्जन कृतिहरु, लेखन सम्पादन गरे । यौटा सर्जकले जीवनमा यति कृति तयार गर्नु चानचुने मेहनत, प्रतिभा, लगन र प्रतिबध्दताले हुने होइन । यो हिसाबले उनी उर्वर र लेखनमा निष्ठा भएका व्यक्तित्व हुन् भन्न दुविधा राख्नुपर्दैन ।

साँच्चै उनले जीवनभरि लेख्यालेख्यै गरिरहे, दौड्यादौड्यै गरिरहे । यसैको पर्याय थिए- घटराज भट्टराई ।

६ जनवरी २०२२, फल्स चर्च, भर्जिनिया, अमेरिका ।

(तस्वीर : अमर चित्रकारअविश्रान्त साधक घटराज भट्टराई पुस्तकको आवरणबाट)


COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: घटराज भट्टराई : जो लेख्या-लेख्यै, दौड्या-दौड्यै गरिरहे
घटराज भट्टराई : जो लेख्या-लेख्यै, दौड्या-दौड्यै गरिरहे
https://www.onlinekhabar.com/wp-content/uploads/2019/08/Govinda-Giri-Prerana-455.jpg
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2022/01/blog-post_75.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2022/01/blog-post_75.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy